![]() |
| दिनेश गाैतम |
हिजो घरबाट फोन आयो ,
'साउन सकिन लाग्यो । घर आउन्नस त खिर खान ?'
घरको फोन थियो । कति व्यस्त छु भन्नु ।
उसै त वाआमालाई आफ्नो छोरो जस्तो फुर्सदिलो कोहि लाग्दैन् ।
भनेँ , 'अस्ती शनिवार अफिसमै खाएँ । आउन्न होला ।'
फोन कट्यो ।
म खिन्न भएँ । घरमा खुशी भएनन् । छोरो फेरिपनि आएन् ।
..............................
एक साथीको फोन आयो दिँउस,
'आज भेटुम न चिया खानेगरी । धेरै भो भेट नभको ।'
के भनुँ के भनुँ । भेट नभएको त धेरै भयो । तर यतिका दिन ती साथीलाई मसँग चिया पिउन परेन् । आजै किन ?
'हेर न , आजै काम छ अल्ली बढी । वजार पनि जानु छ । अर्काे दिन म आफैँ फोन गर्छु है ।' मैले जवाफ फर्काँए ।
साएद उनी खिन्न भए , सोचेहोलान , कत्ति नी विजी देखिन खोजेको होला ।
वास्तविकता पनि त्यहि थियो ।
...................................
हप्तादिन अगाडी क्याम्पसबाट सरले फोन गर्नु भो ,
'आजभोली त आउनै छाड्यौ त क्याम्पस । पढाइ विग्रेला है । सेमस्टर हो , सजिलो छैन ।'
उहाँले भन्नुभन्दा अगाडी नै मलाई थाहा छ , सेमस्टर हो । पढाइप्रतिको मेरो मोहभंग उहाँलाई नजिकबाट थाहा छैन् । अव फेरि एउटा वहाना चाहियो ।
'हेर्नु न विजी छु आजभोली । दिमाग पढाइतिर लाउन सक्याछैन । तर म राम्रो गर्छु एक्ज्याम सम्म ।'
'लौ लौ ।'
फोन कट्यो । उनी वेखुशी भए।
........................................
खासमा म केमा व्यस्त छु , मैलाई थाहा छैन् । मैले जे काम सक्नुपर्नेछ , त्यो जतिवेला सकेपनि हुन्छ । एक्ज्याम नजिकै छ , जति पढ्नुछ , एक्ज्यामको टाइममा पढे पुग्छ । खासमा व्यस्तताको कुन चाँही कुराले मलाई च्यापेको छ, जसको कारण कोहि पनि खुशी छैनन् ।
एक्ज्याम शुरु हुँदैछ एकहप्तापछि । केहि त पढ्नै प¥यो , कमसेकम प्रश्न त वुझ्न सकियोस । एउटा वर्कसपको लागि सेलेक्ट भाको छु , जसले मलाई विश्वास गरेका छन् त्यो तोड्न मिल्दैन् । मलाई पनि ठुलै अवसर छ त्यहाँ । त्यसको लागि नि पढ्नै पर्नेछ ।
त्यो भन्दा अगाडी एउटा फेलोसिपको मिटिङ छ , त्यहाँ एटेन्ड हुनै प¥यो । आउने महिनाको पत्रिका निस्किएको छैन , त्यसको लागि पनि समय छुट्टाउनै प¥यो ।
सार्वजनिक नीतीको सम्बन्धमा एउटा आर्टिकल लेख्छु भनेर लागेको एक महिना भो , लेख्न सकिएको छैन । तीनवटा प्रोगाम शुरु भएको छ , त्यसको तयारी गर्नु नै छ ।
पढ्न त कति छ कति , कहिले पो सकिन्थ्यो र ? अनि म व्यस्त छु । केहि नगरेकै भएपनि व्यस्त जस्तो लाग्छ , एकदम व्यस्त ।
.................................................
साथीभाई त उसैपनि एकदम कम छन् , अझँ भनौँ कम भएका छन् । उसैपनि केहि साथीहरुलाई भेट्नु भनेको मेरो केहि समय खेर जानु सरह मान्छु ।
अंहकारी नै सही , मलाई फुर्सद छैन । केहि मन खाएका साथीहरु छन् जो सँग हप्तामा एक पटक भेट हुन्छ , विभिन्न विषयमा छलफल हुन्छ , डिवेट हुन्छ । तव पो मज्जा आँउछ । तीनै मात्रै खुशी छन् साएद, अरु सवै त एकदम वेखुश छन् ।

