Saturday, March 5, 2016

बनाउन खाेजेकाे सम्वन्धकाे नाममा





आब्हान प्रेमको

तिम्रो बारेमा लेख्छु भनेर वसेको हुँ , के लेखेँ , के लेखिँन यसको पहिचान म सँग छैन ।यी शब्दहरु म जो लेखिरहेछु अथवा भनौँ लेख्न गइरहेको छु , त्यो साहित्यको कुन विद्यामा पर्छ वा गैरसाहित्य नै हो , त्यो पनि म जान्दिँन । मात्र यो जान्दछु कि म यो सवै तिम्रो नाममा लेखिरहेछु । 
तिम्रो बारेमा लेख्छु भनेर कलम समात्दै गर्दा ममा पनि उत्पन्न भए अनेकन विचार ,भाव , प्रेम तिमी प्रति । र यस विचमा मैले आफ्नो बारेमा सोच्न सकेको छु , तिमीलाई जोडेर । 
अव म सँग त्यति विचार छैनन , काम मात्र वाँकि छ । 
के बुझ भने मेरा यी कामप्रतिका उद्घोषहरु तिम्रै अगाडी पछाडी दौडेका छन , सम्हाल यसलाई ।
थाहा  छ आज चिसो छ । थाहा छैन , आज चिसो छैन । तिमीसँगको साक्षात्कारले जुन न्यानोपन दिन सकिरहेको छ मलाई , मेरा लागि साएदै सक्ने छन यस्तो गर्न विहानी सुर्यका किरणहरुले । 
अव प्रश्न उठ्छ आफैँमा , म तिमीलाई पत्र लेख्दैछु ? खै
 त । म तिमीलाई के भनेर बोलाँउ ?  मैले बुझे सम्म पत्रमा नाम लेखेरै सम्वोधन गर्दा राम्रो हुन्छ र अहिले भने मलाई तिम्रो नाम के लेखौँ भनेर निर्णय गर्न सकस परिरहेको छ । 
सरी फर द्याट मैले तिम्रो नाम वोलाउन सकिन र अर्काे कुरा म तिमीलाई तिम्रो नामबाट भन्दा पनि तिमी प्रतिको मेरो प्रेमबाट चिनाउन चाहन्छु । के संभव होला ? 
सम्वोधन त खोजौली नी , तिमीले मलाई जे भनेर वा जसरी वोलाउछ्यौ त्यसरी नै मैले पनि वोलाएको छु भनेर वुझ है  । 
दिन १५
रात १६ ( आजको सहित )
घण्टा , मिनेट , सेगेन्ड , क्याल्कुलेटर दवाउ र विस्तारै पुग सेगेन्ड सम्म । 
अव सम्झ, तिम्ले निकालेको हर सेगेन्ड जति छ , त्यति पटक सम्झिएको छु मैले तिमीलाई । के वुझ भने मैले तिमीलाई एक सेगेन्ड पनि विर्सन सकेको छैन , यसको मतलव यहि हो । 
म साहित्यकार होईन , घुमाएर लेख्न सक्दिन । म पत्रकार होईन , सिधा कुरा लेख्न जान्दिँन । र घुमाएरै लेखुँ तिमीले नबुझौली भन्ने डर भो , सिधा लेखौँ , लेख्न मन लाएन । सिधा लाग्दा अलि असुहाँउदो होला ।  तिमीलाई सजिलो पार्नका लागि यो अहिले लेखिरहेका यी सवै वाक्यहरु ‘एभरेज राइटिङ’ हो भनेर बुझिदेउ । 
मैले देखेसम्म दुव्ली , पातली , अग्ली छौ ,हाम्रो गामतिर यस्तो मान्छेलाई लुरे वा लुरी भन्छन ।
अहिले मैले घडिमा कति वज्यो भनेर हेर्न खोजेँ तर विचमा रोकिँए फेरि , किन थाहा छ ? मलाई अवेर हुन सक्छ सुत्नलाई । र म सोच्छु , तिम्रो लागि जे पनि गर्नेछु वा गरिरहेको हुनेछु । मलाई कहिल्यै अवेर हुनेछैन । म तिम्रो प्रेमको जस्तै एउटा निश्चित गति बनाउन चाहन्छु  तिम्रो सम्झनाको । 
तिमीले भन्यौ , ‘मात्रै साथी हौ तिमी मेरो ।’
मैले ‘होईन’ भनिन । 
दोस्रो दिन भन्यौ , ‘यु आर माइ वेस्ट फे्रन्ड ।’
त्यो पनि त मैले ‘होइन’ भनिन नी । 
एक हप्ता पछि सम्म कुरेँ , केहि थप्छौ कि भनेर । थपिनौँ । किन थपिनौ भनेर मैले केहि सोधिन । बरु , मैले आफैँ थप्दिए , ‘पछि अरु थप केहि हुन सक्छु कि ?’ 
तिमीले पनि त ‘सक्दैना’ै भनिनौँ । 
म गलत हुँदो हुँ वा भ्रममा हुँदो हुँ , त्यहि दिन देखि मैले तिमी प्रति मेरो केहि न केहि प्रेम रहेको अनुभुति गर्न थालेको । 





तिम्ले भन्यौ , ‘केहि त लेख ।’
मैले साएद धेरै लेखेँ ।
फेरि मैले भनेँ , ‘मैले लेखेको वुझ्यौ ?’ 
तिम्ले भन्यौ , ‘अलि अलि ।’ 
थाहा छ , लेख्नेहरु आफ्नै वा अर्कैको कुरा भएपनि आफ्नै सम्झेर लेख्छन , वुझ्नेले पनि लेख्नेकै भनेर वुझ्छन ।
म तिम्रो बन्न चाहन्छु , तिम्लाइ आफ्नै भन्न चाहन्छु । थाहा छैन मैले यसको लागि के के गर्नुपर्छ वा के के गर्नपर्दैन ? तर जे जे गर्न पर्नेछ त्यो गर्नेछु र जे जे गर्न पर्नेछैन , त्यो गर्नेछैन । किन ? भनौली , प्रेम गर्छु नी त । 


















तिमी आयौ , फेरि आयौ र आइनै रह्यौ ।
र भन्न सक्दछु म , अव तिमी आएको हेर्ने , देख्ने र महशुस गर्ने लत वसेका छ म मा , एडिक्ट भनुँ न तिम्रो आगमनको । तिमी गयौ भने , फेरि गयौ भने र आँउदै आइनौ भने , मेरो हालत के होला भन त , एकदम खराव , अत्यन्त खराव ,सवैभन्दा खराव । 
म भइरहेछु सुयोगविर जस्तो जहाँ उसले सकम्वरीलाई देखाउन खोजेको प्रेम जस्तै गरेर प्रेम देखाउन खोज्दैछु भ तिमीलाई तर हेर न पारिजातले च्वाट्टै चुडिँदिइन शिरिषको फुल र विदा गरिदिईन सकम्वरीलाई । अहँ म यस्तो त सोच्न पनि सक्दिन । सोच्दछु त्यस्तो इन्डिङ चाहिँदैन मलाई । म फर्किन खोज्छु सुयोगविरको भुमिकाबाट । 
म तिम्रो लागि अतित बन्न चाहन्छु , समर लभको जसलाई उसले सवैभन्दा बढी प्रेम गरेकि साया टाढिन्छ सम्बन्धबाट अकस्मात । उ पुग्दछ , ओश्लो उसैको खोजीमा  । बुझन म अतित वन्न खोजे पनि तिमीलाई साया वनाउन चाहन्न , मात्र बनिदेउ तिमी मेरो प्रेमिका , रहिदेउ मेरै निकट , र वचाइदेउ मेरा आशा , अपेक्षा र भविष्य जो मैले तिमी प्रति नै समर्पण गरेको छु ।
मैले तिमीलाई देखेको छैन प्रत्यक्ष , अझँ तिम्रो आवाज त प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि तरिकाले सुनेकै छैन । कमसेकम तिम्रो आवाज सुन्नबाट तिमीले वन्चित गरेकि छौ , यसमा तिम्रो ध्येय के थियो वा छ ? म जान्दिँन । यतिमात्र जान्दछु , आजसम्म जतिपनि व्यक्तिका जतिपनि आवाजहरु मैले सुनेका छु वा मसम्म आइपुगेका छन , त्यसको भन्दा बढी भार महशुस गरेको छु मैले तिम्रो आवाज विहिनताबाट । एकदम गहिरो ,गहिरो ।
तिमी टाढा छौ । मैले तिम्लाई चाहेर वा बढी नै चाहेर  पनि भेट्न सक्दिँन तत्काल । टाढा छौ नी तर थहा छ यो पटक पनि म वस्नेर तिमी वस्ने दुइटै सहरमा फुलहरुको कारोवार बढेको छ , कारोवारीहरु बढेका छन । तिम्रो बारेमा जान्दिन तर यो शहरमा वेच्न राखिएका गुलावहका फुलहरुको म अहिले पनि ग्राहक बन्न सकिन । मलाई मन नै पर्दैन के गुलाव । मेरो लागि तिमी नै गुलाव हौ भनेर मैले सोचिसकेपछि म तिमीबाहेक अरुलाई मन पराउन वा प्रेम गर्न सकुँला त ? र म गुलाव तिम्रो पु¥याउन पनि सक्दिँन । 
म परिभाषा दिनलाई पढेँ , दिएर पास भएँ । म अर्थ लगाउन स्कुल गएँ , अर्थ लगाएर फर्केँ । फेरि म हिसाव सिक्न क्याम्पस गएँ , सिकेर फकिएँ । जे गर्न गएँ , त्यहि गरेर फर्केँ । तिमी पहिलो थियौ जसको नजिक म पुग्न सकेँ , प्रेमिल आशाका संभावनाहरु लिएर तर फर्कन सकेको छैँन हेरन , जुनसुकै होस परिणामका कुम्लोहरु बोकेर । म त्यतै अड्किएँ , तिमी भएतिरै , तिमी तिरै , तिम्रो बुझाई तिरै , तिम्रो आवरणतिरै । तिमीले अड्काएर राख्यौ थाहा नपाएरै । अनुभव गर त , कुनैपनि फरक फरक अवस्था र आवरणमा म छु तिम्रै वरिपरि , मात्रै वरिपरि । 

र भगवान् पनि निर्दोेष छैनन्

अल व्याड थिङ ह्यापन्ड विकज अफ गड । हामी सबै यही भन्छौ, यहाँ जे नराम्रो हुन्छ, त्यसमा भगवान दोषी छन् । कतिले भगवान्को साटो भनिदिएको हुन सक्छन् कि भाग्यले नै साथ नदिएको हो । हामी किन छौं ? किनभने यहाँ हाम्रो अस्तित्व छ र यहीं रचिएको छ हाम्रो जीवन । हामी यहाँ हुनुपर्ने बाध्यात्मक परिस्थिति छ र यदि यी चाहनाहरूबाट उन्मुक्ति खोज्ने हो भने जीवन नरोजे हुन्छ हामीले । थोमस एल्वा एडिसनले भन्थे, ‘दिएर इज नो सव्सिच्यूट अफ हार्डवर्क’ । हुन पनि हो, कडा परिश्रम बाहेक अरु विकल्प नै छैन । अझ के पनि हो भने ‘दिएर इज वन्ली वन अल्टरनेटिभ अफ लाइफ, द्याट इज डेथ ।’ जीवन नजिउन खोज्नुको एकमात्र विकल्प जीवनको समाप्ती हो ।  हरेक मान्छे जुनसुकै हालतमा मर्न चाहदैन र मर्न नचाहनुको अर्थ हो जीउन खोज्नु । हामीले जीउन खोजेको जीवनको कग्निटीभ डिसोनेन्स 
(मानसिक विरोधाभाष) बडो अचम्मको छ । हामी यही रहनुपर्छ जहाँ रहन पर्नेछ वा रहनु अनिवार्य छ । मन त कसैको पनि कहिल्यै एकनाश हुँदैन कसैप्रति, बदलिन्छ वारवार जति तपाईं बदलिन चाहनुहुन्छ वा सक्नुहुन्छ । कहिले काहीं तपाईंले चाहेभन्दा बढी बदलिनुहुन्छ तपाईं र त्यतिबेला तपाईंलाई लागेको हुनुपर्छ, ‘यो सब भाग्यको खेल हो ।’ मलाई अनि सबैलाई, यो संसारका सबै मानिसलाई लाग्ने त्यही हो, राम्रा कुराहरू सबै हाम्रो प्रयत्नबाट भएका हुन्छन् र जति नराम्रा कार्यहरू हामीबाट हुन्छन्, हामी सोच्छौं, त्यो सब नियतको खेल हो । भाग्यले हामीलाई साथ दिएकै होइन । मैले उल्लेख गर्न खोजेको यही हो, हाम्रो मस्तिष्क किन हाम्रा सकारात्मक प्रतिफलहरू वा प्रगतिको जश मात्र लिन खोज्छ । र नबुझेको कुरा पनि यही हो किन मान्छे आफैबाट घटाइएको घटनाबाट सृजित नकारात्मक परिणामको जिम्मेवार भाग्यलाई वा नियतलाई वा ईश्वरलाई वा अरुलाई ठान्छ । साँच्चै 
(अ) विवेकशील छ मान्छे कमसेकम आफ्नो मामलामा ।
अब्दुल कलामः एक अपवाद
भारतका एक पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको गतवर्ष निधन भयो । खासगरी विद्यार्थी जगतका लागि संसारकै एक उत्कृष्ट प्रेरणा मानिने अब्दुल कलाम जो भारतमा ‘मिसाइल मेन’ भनेर चिनिन्छन्, उनको एक घटना निकै चर्चित छ यो माथि उठाइएको मामिलामा । भन्न खोजेको, मानिसहरूले सफलताको श्रेय आफूले लिने तथा असफलताको कारण अरुलाई नै देख्ने जो प्रवित्ति आम मानिसमा हावी छ वा देखिन्छ, त्यसको ठ्याक्कै विपरित थिए कलाम । प्रसङ्ग छ, जब अब्दुल कलामको नेतृत्वमा भारतमा मिसाइल निर्माण तथा विकासको क्रम चलिरहेको थियो, त्यतिबेला मिसाइल निर्माणको प्रयास सुरुवातमा असफल भएको थियो । त्यो असफलतालाई लिएर अनेक टिकाटिप्पणी उठाइएको  थियो र भारतीय मिडियाले जसले आवश्यकता भन्दा बढी नै आलोचना गर्न खोज्दछन् , मिडियाले उनको टिममा सहभागी धेरै वैज्ञानिकको कडा आलोचना गरेका थिए । त्यो मिसाइल निर्माण असफल हुनमा पूर्ण रूपमाती वैज्ञानिकहरू दोषी हुन् भन्ने मिडिया तथा अन्य व्यक्तिको निश्कर्ष थियो सायद । तर जब पत्रकारको समक्ष अब्दुल कलाम पुगे र उनले आफ्नो टीममा रहेका वैज्ञानिकहरूको आलोचना भएको थाहा पाए, त्यसको डटेर प्रतिकार गरे । 
स्पष्ट रूपमा भने कि, ‘हामी जे जति रूपमा असफल भएका छौं, त्यो सम्पूर्णको दोषी म छु । म नेतृत्वकर्ता हुँ र यो असफलताको जिम्मेवारी त मैले लिनुपर्दछ । तपाईंहरू किन त्यसै यी मैले जे गर्न लगायो त्यही गर्ने वैज्ञानिकहरूको आलोचना गर्नुहुन्छ ? कति सक्नुहुन्छ मेरो आलोचना गर्नुस् ।’ त्यो सुनेर मिडियाका मान्छे अवाक भए । र इतिहासमा त्यसपछि कहिल्यै पनि अब्दुल कलाम र उनको टीम आलोचित हुन परेन । त्यसपछिको प्रयासमा उनीहरू सफल भए र मिसाइल निर्माण सम्पन्न भो । फेरि भारतीय मिडियाका व्यक्तिहरू आए र तिनीहरूले अब्दुल कलामको जयजयकार गर्न थाले । यसको प्रत्युत्तरमा अब्दुल कलामले भने, ‘तपाईंहरू नै होइन जसले अघिल्लोपटक हाम्रो टीम मिसाइल निर्माणमा असफल हुँदा यी वैज्ञानिकहरूको आलोचना गरेको ? अनि आज चाहिँ सफलताको श्रेय मलाई दिँदैहुनुहुन्छ ? यो जति सफलता प्राप्त भएको छ, यो सबै उहाँहरूको कारण सम्भव भएको हो । यसमा त म मात्रै सहयोगी हुँ र यस कार्यका लागि मैले उहाँहरूलाई उत्प्रेरित मात्र गरेको हुँ ।’
हरेक मान्छे कलाम जस्तो बन्नै सक्दैन । अझ भन्दा त अधिकांश मान्छे कलाम जतिको बन्न सक्दैन र त्यसैले पनि कलाम–कलाम जस्ता बन्न सकेका हुन् । भारतीय समुदायमाझ मात्र नभएर सारा संसार भरी उनको गुणगान गरिन्छ । यसको थप अर्थ के लाग्छ भने, तपाईं अरुभन्दा फरक अझ लगभग भन्दा फरक बन्नुहुन्छ भने समय तपाईंकै पक्षमा हुनेछ, जसरी समय एपिजे अब्दुल कलामको पक्षमा थियो ।
हाम्रा सोचहरूले निम्ताउने आशा, आशाहरूका बलहरूमा हुने कर्म  सधैं हाम्रो लागि सकारात्मक हुन्छन् र जब त्यसको परिणाम हामी भोग्छौं वा महसुस गछौं, त्यसबाट त्यसको स्वामित्व बदलिन्छ । राम्रो र सोचेजस्तै नतिजा आयो भने त्यो कर्मको फल हो, त्यो हाम्रो मेहेनतको उपज हो भन्ने हामी सोच्दछौं र त्यही कर्मले दिने फल आफू प्रतिकूल भयो भने नि त्यो हाम्रो कारण होइन, सारा भगवानको कारण वा हामीले विश्वास गरेको कुनै दैवीक शक्तिको आडमा भइरहेको छ र यसमा हामी कत्ति पनि दोषी छैनौं । फेरि पनि भनें, हो हामी मानिसहरू साँच्चै (अ) विवेकशील छौं । 
गीतामा कृष्णको भनाइलाई सारा हिन्दु धर्मावलम्बीहरू प्रेरणाको स्रोत मान्दछन् । उनका प्रत्येक भनाइहरू जीवन जिउने आधार भएका मान्दछन् केही मानिसहरू  । ‘यो संसारमा जे जति राम्रो छ वा भएको छ वा भएको थियो वा भएको हुनेछ, त्यो सब मेरो कारण नै हुनेछ’ भनेर कृष्णले आत्मालाप  गरेका छन् गीतामा । अनि यो संसारमा जति नराम्रो हुन्छ, त्यसको जस कसले लिने नि ? हामीले नराम्रा प्रतिफल सबै भाग्य वा भगवान्को कारण भएको भन्छौं । भगवान स्वयम् आफू यो संसारमा राम्रो काम गर्नका लागि मात्र अस्तित्वमा रहेको जिकिर गर्छन् । हामीले भगवान्लाई दोष लगाउने, भगवान्ले आफूमा कुनै दोष नरहेको भन्ने, खास त्यहाँ कसले झुट बोलेको छ । यी दुवै सत्य हुनै सक्दैन र यी दुवै झुट पनि हुन जटिल छ । साएद यहाँ पनि मान्छेहरू भगवानको 
(अ) विवेकशीलता देख्दा हुन्, अरुलाई दोष थुपार्ने वानी जो परेको छ र यदि भगवान् छन भने उनले पनि त्यही देखेका होलान्, यो सबै मानिसहरूको (अ) विवेकशीलता हो ।
गीताबाट कृष्ण जोगिन्छन्, महाभारतबाट पाण्डव, रामायणबाट राम । वाइवलमा जिसस क्राइस्ट आफूले गरेको कुनै पनि काम गलत नहुने बताउँछन् । कुरानमा पनि सायद त्यस्तै लेखिएको होला । सबै भगवान् मानिएकाहरूको कुरा एउटै हो, उनीहरू जे गर्छन् राम्रै गर्छन् । हामी सबैको भनाइ पनि एउटै हो, यो संसारमा हामी जति पनि असहज स्थितिको सामना गरिरहेका हुन्छौं वा गर्न परेको हुन्छ, त्यो भाग्यको उपज हो वा यसमा पूर्ण रूपमा भगवानको हात छ ।
अन्तिममा भन्न सकिन्छ, मानिस भगवानभन्दा बाठा छन् र भगवान् मानिसभन्दा बाठा छन् । वास्तवमा दुवै वाठा छन् । र उनीहरूको बाठो बन्ने जुनसुकै तयारीहरू किन नहुन, ती सब दोषबाट उम्कने उपाय मात्रै हो । जे भए पनि यी दुवै दोषी छन् र निर्दाेष पनि छन् यी दुवै । अर्थात् जे भइरहेको छ वा जे हुनलाई जे भइरहेको छ, त्यो त्यही हालतमा त्यो गर्नेलाई जे महसुस गरेको छ, त्यहाँसम्म सही छ । उसले गलत सम्झे गलत छ । सोचमै भरिएको छ सबै, अडिएको छ सबै । मान्छे भएकै हुनाले मैले पनि भन्नै पर्ने हुन्छ र भगवान् पनि निर्दाेष छैनन् ।